एससीटी र पायोनियर असोसिएटबीच सहकार्यसम्बन्धि सम्झौता
ललितपुर । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड ( एससीटी ) र वित्तीय संस्थाहरुलाई विभिन्न डिजिटल सेवा प्रदान गर्ने पायोनियर असोसिएट प्रा.लि. बीच सहकार्यसम्बन्धि सम्झौता भएको छ । ‘ कोसिस ’ सिस्टमको प्रयोग गर्ने सहकारीलगायत अन्य वित्तीय संस्थाहरुमा कार्ड, क्यूआर र अन्तरबैंक भुक्तानीलगायतका सेवाहरु एससीटीको सहकार्यमा हुने सम्झौता भएको हो । पायोनियर असोसिएटको कार्यालयमा आयोजित कार्यक्रममा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र पायोनियर असोसिएटका प्रबन्ध निर्देशक पायोनियर खड्काले सम्झौता – पत्रमा हस्ताक्षर गरेका छन् ।
विगत २ दशकदेखि कार्ड, क्युआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्गलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएका एससीटीले स्मार्ट पे ब्रान्डमा अन्तर बैंक भुक्तानी सेवा र स्मार्ट क्यूआर ब्रान्डमा क्यूआरमार्फत भुक्तानी सेवा दिँदै आएको छ । यस सेवाको सुरुवातसँगै कार्ड र क्यूआरमार्फत गरिने भुक्तानी सेवा सहकारी, लघुवित्तलगायतका संस्थाहरुमा विस्तार गर्न अझै सहज हुने दुवै पक्षले जनाएका छन् ।
Source by: जन अपडेट संवाददाता